सर्जक सोतीलाई चिन्ता: ‘म्याउँ–म्याउँ बिरालो’ लाई कसरी प्रमाणित गरौँ
काठमाडाैं | भदौ २८, २०७९
कावासोती । चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिनुहुन्छ । उहाँ उमेरले ७५ मा हिँड्दै हुनुहुन्छ । उहाँको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उहाँ २०–३० वर्षकै उमेरमा हुनुहुन्छ ।
मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उहाँको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने । विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ ।
चार सन्तानका पिता उहाँले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाउनुभयो, अनि अहिले आएर उहाँलाई आफैँले लेखेको म्याउँम्याउँ बिरालोलाई पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिन–दिनै सताएको छ ।
विगतलाई उहाँले यसरी सम्झनुहुन्छ, “विसं २०२५ असारको महिना थियो, बा–आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ । ”
विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह उहाँबाट पाएको सर्जक सोती सम्झनुहुन्छ । उहाँले श्यामदासबाट सल्लाहमात्रै पाउनुभएन, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिनुभयो । भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी १० वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिनुभयो ।
रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताउनुभयो । गीत रेर्कड भएपछि उहाँले खासै वास्ता राख्नुभएन, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उहाँलाई सम्झना छ । “सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ”, थाहा पाउँदा दुःख लाग्यो”, उहाँले भन्नुभयो ।
गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गर्नुभएको थियो । विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उहाँको दुःखेसो थियो ।
आन्दोलनपछि विसं २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उहाँले बताउनुभयो । यसपछि नाम राखिदिने आश्वासन समेत उहाँले पाउनुभएको थियो । पारिश्रमिकस्वरुप रु दुई हजार प्रकाशनले दिएको उहाँले बताउनुहुन्छ । “नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्”, उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्”, उहाँले भन्नुभयो ।
आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उहाँले सुनाउनुभयो । उहाँलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिकरूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन ।
रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउनुहुन्छ । “विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ”, उहाँले भन्नुभयो ।
विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउनुहुन्छ । “गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उहाँले बताउनुभयो, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो ।”
उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उहाँ भन्नुहुन्छ ।
यस्तो छ गीत
म्याउँ–म्याउँ बिरालो यतातिर आउ
मेरो नाना काटी गर्ने मुसा मारी खाउ
कराइको दूध खाइदेऊ भने
म त भोकै हुन्छु, नखाइदेउ भन्छु
बाबा भन्छिन् खाली बुबु चोर्न जाली
आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली
बुबु चोर्यो भने लट्ठीले म हान्छु
नआइज न यता चोर्नै म्याउ भन्छु
विसं २००६ मा लमजुङको कुन्छामा जन्मिनुभएका सर्जक सोती अहिले स्थायीरूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्नुहुन्छ । विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उहाँ अनवरतरूपमा साहित्य सिर्जनामा क्रियाशील हुुनुहुन्छ । विसं २०२८ मा लमजुङको कुन्छा साहित्य परिषद्को अध्यक्ष, २०३८ मा मकवानपुर साहित्य परिषद् हटौँडाको संस्थापक उपाध्यक्ष, २०४६ मा युवा साहित्य सदन पोखराको संस्थापक सचिवसमेत भएका कवि सोतीको ‘मेरी मस्र्याङ्दी’ कविता सङ्ग्रह(२०२८), ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह (२०३०), ‘जगदम्बा’ काव्य (२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन्’ कविता सङ्ग्रह (२०६७), फुल्न नसकेका फूलहरू (२०७८) र थुप्रै फुटकर कविता प्रकाशित भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

